Follow us: Youtube Android App
‘हजुर मेरो सेकेण्ड लव’
१२ भदौ २०७२

एउटी पाठकको आत्मकथा

 
म उसलाई प्रेम गर्छु, सबैलाई थाहा छ।

प्रेम गर्नु कुनै अपराध होईन। ऊसँग मैले यति प्रगाढ प्रेम गरेछु की ऊ विना म अपूर्ण छु।

जीवनको एउटा मोडमा ऊसँग भेट भएको थियो। प्रत्यक्ष होईन भावनात्मक भेट। ऊ र मेरो मिलनको चौतारी साहित्य थियो। जसको लेखनबाट म निकै प्रभावित भएकी थिएँ। जुन प्रभाव मायामा परिणत भयो।

भन्नेहरु भन्थे साहित्यले मनलाई जोड्छ। हो जस्तो लाग्यो। संयोग भन्नुपर्छ एक दिन अकस्मात त्यो कागजमा भेटिएको मान्छेको ठेगाना सहितको सम्पर्क नम्बर पाएँ। र, साहस गरेर फोन गरेँ, ‘म तपाईंको प्रिय पाठक। अर्थात फ्यान।’

उसले सोध्यो, ‘नाम?’

‘नर्मदा।’ मैले आफ्नो परिचय दिएँ।

‘खुसी लाग्यो तपाईंसँग परिचय भयो।’ उसले भन्यो।

त्यस दिनको फोन वार्ताले म अझ प्रभावित भएँ ऊसँग।

म ऊसँग प्रभावित हुन यतिले पनि काफी थियो।

***

हरदिन नयाँ चाहनाको आशक्त हो मानिस।

म पनि त्यस्तै भएँ। आखिर म पनि त एउटा मान्छे हुँ। त्यसपछि मेरो अपेक्षित प्रेमले एउटा स्वरुप लियो। त्यस दिनदेखि फोनको सिलसिला अविराम चलिरह्यो। अब हरेक पलपलमा ऊ मेरो कल्पनाको राजकुमार बन्न थाल्यो। म उसको सान्निध्यको आशासहित सपनाको ईन्द्रेणीमा हराउन थालेँ।

म उसमा सम्मिलित हुन चाहान्थेँ। तर, भन्ने पो कसरी? मनको कुरो मनमै मात्र सिमित हुने हो की भन्ने डर पनि लागिरहन्थ्यो मनमा।

‘डरछेरुवा हुन् तिनीहरु जो प्रेम गर्दैनन्। मुटु चाहिन्छ बरबाद हुनलाई पनि।’ मेरो सोचाई थियो।

साहसै गरेर एक दिन भने, ‘मलाई आज अलिकति समय दिन सक्नुहुन्छ? म हजुरलाई भेट्न चाहन्छु।’

‘सरी, सक्दिन!’ उसले ठाडै अस्वीकार गर्‍यो।

नमीठो लाग्यो। कस्तो असम्भव ईच्छा पालेछु। रुन मन लाग्यो। तर, रुन पनि सकिन। सिङ्गै आकास फनफनी घुमेजस्तो लाग्यो। नहोस पनि कसरी, मैले उसलाई अपनाईसकेकी थिएँ। आफ्नालेनै पराया ठानेपछि मन अमिलो हुँदो रहेछ। त्यस्तै भयो। सम्भवतः मैले टाढाको आकाशको जूनलाई आँखामा टाँस्ने कल्पना गरेछु जस्तो लाग्यो।

‘किन, म आफ्नो प्रिय लेखकसँग एक मिनेट पनि समय पाउँन सक्दिन?’ नम्र हुँदै अधिकार मागेँ। त्यसो भन्न पनि मन थिएन। तर, अनयासै मुखबाट फुत्कियो। पछि आफैंसँग रिसाएँ पनि, किन यस्तो भावना नबुझ्ने मान्छेसँग पनि कुरा गरेँ भनेर।

‘त्यसो होईन, पाउँछ्यौ तर ...।' उसले भेट नदिनुको कारणलाई अधुरै राख्यो। सायद् केहि लुकाउँदै छ मसँग।

‘ठीकै छ, एउटा अज्ञानी सम्झेर माफ गरिदिनु होला। मन हो, कहिलेकाहीँ असम्भव चाहना पनि राख्दो रहेछ, राख्यो। बाई।’ मैले उसको थप कुरा सुन्न चाहिँन, फोन राखिदिएँ। र, मोबाईलको स्वीच अफ गरेँ।

सायद बुझ्ने हुँदो त यै कुरा काफी थिए उसको लागि। तर, उसले बुझ्यो या बुझेन।

त्यसपछि उसको व्यवहार नरमाइलो लाग्यो। ऊ मैले सोचेजस्तो मान्छे रहेनछ। गल्ती आफ्नै थियो, मनलाई थुमथुम्याँए। तर, मन नमीठो गरि दुख्यो। दुखेको मनलाई विसेक पार्न निकै कष्ट हुँदो रै'छ। सोच्दासोच्दै कुन बेला निदाएँ थाहा भएन।

ब्यूँझदा घाम डाँडामाथि पुगिसकेछ।

***

सपना पनि नराम्रो देखेँ।

मोबाईलको स्वीच अन गरेँ। खोल्नासाथ घन्टी बज्यो। फोन उसैको रहेछ। रिस मरेको छैन। ‘हेलो!’ फोन उठाएँ।

‘जवाफै दिन नपाई स्वीच अफ गर्नुपर्छ?’ऊ बोल्यो। झर्किएसरी।

‘फुर्सदै नहुने मान्छेले किन फोन गरेको त?’ मैले पनि रिसाएजस्तो गरेँ।

‘म अहिले बाहिर छु, दुर्गम पहाडमा। अनि कसरी भेट हुन्छ त। कति चाँडो रिस उठेको।’ उसले फोनमा नै सम्झायो।

‘रिस उठ्दैन त, आफूलाई कस्तो भेट्न मन लागेको छ।’ पूर्वपरिचितजस्तै मैले फेरि घुर्काए।

‘ल, म पर्सी आउँछु।’

बल्ल ढुक्क भएँ। मलाई थाहा छ, यो तीन दिन मेरा लागि तीन महिना हुनेछ।

***

आज ऊ आउने दिन।

उसलाई भेट्ने चाहनामा एक दिनको कलेज छोड्छु। कलेज भन्दा ऊ नै प्यारो छ मेरो लागि। चिन्न कुनै गारो हुँदैन किनकी उसलाई कितावमा देखेकी छु।

अभिवादन गर्छु। ऊ मेरो उपस्थितिमा ‘सरप्राईज’ हुन्छ। त्यो दिन मेरा लागि एउटा अविस्मरणीय दिन हुन्छ।

मैले नसोचेको मान्छे लाग्छ ऊ। सभ्य र शालीन। उसले लेखेका शब्द शब्दमा म उसको स्वरुप र स्वभावको कल्पना गर्थें। मैले पढ्दै गरेका उसका कितावका पाना पानामा नायक भएर उभिन्थ्यो ऊ। म कल्पना गर्थें। नभन्दै मैले कल्पना गरेको रङ, स्वरुप र स्वभावको रहेछ। फूल देखेपछि भमराहरु आफैं उडेर आउने संस्कार। तर, प्राकृतिक नियम उल्लङ्घन गरेर म नै भत्काउँछु त्यो परम्परावादी पर्खाल। अर्थात् म फूल नै उडेर गएकी छु, भमरा समीप।

ऊसँगको भेटपछि अझ आकर्षित हुन्छु। न हुनु पनि कसरी, ऊ त्यस्तै खालको थियो। मेरो मन त्यसै त्यसै उडेको थियो। उडेको मनलाई च्याप्प समातेर राख्यो उसले। कतै भाग्ला जसरी।

एक दिन पहिलोपल्ट ऊ मेरो डेरामा आउँछ। आउँछ हैन, मै बोलाउँछु। मेरो अँध्यारो कोठामा उसको आगमनले उज्यालिएको अनुभव हुन्छ। बस्न आग्रह गर्छु। ऊ निसङ्कोच खाटमा बस्छ। म पनि उसकै छेउमा बस्छु।

‘हेर्नुस त? हजुरले लेखेका सबै कितावहरुलाई मैले कसरी माया गरेर राखेकी छु।’ र्‍याकमा सजाएर राखेको उसका एक दर्जन कितावहरु देखाउँछु। ऊ छक्क पर्छ। एकै छिन घोरिएर हेर्छ मलाई। र, कितावहरुलाई पनि। पालैसँग।

‘मेरो बढी मायाँ लाग्छ की कितावको?' सोध्छ।

‘कितावको। हजुरलाई मायाँ गर्नुभन्दा पहिले म कितावलाई माया गर्थें। हजुर मेरो सेकेण्ड लव।’ हाँस्छु। मसँगै ऊ पनि हाँस्छ।

‘हजुरलाई थाहा छ मैले किन बोलाए?’ प्रसङ्ग फेर्छु।

‘थाहा छैन, किन?’ जिज्ञासासहित सोध्छ।

‘आज मेरो वर्थ डे हो। आई एम भेरी ह्याप्पी! आजको वर्थ डे हजुरसँग मनाउन पाएँ।’ आल्हादित हुन्छु। नखरा पारेको हैन साँच्चै उमंगमा हराएको हुन्छु म।

‘ह्याप्पी वर्थ डे!’ उसले आफ्नो हात मेरो गालामा राख्छ र वर्थ डे वीस गर्छ। एकाएक तरङ्गित हुन्छु। म आफूलाई नियन्त्रण गर्न सक्दिन। उसको छातीमा टाउको अड्याउँछु। उसले मिठो चुम्वन गर्छ। उसको चुम्वनले एकाएक रोमाञ्चित हुन्छु। अप्रत्यासित स्पर्शले लजाएको लज्जावती झारजस्तै ऊ सामु लल्याकलुलुक भएर ओईलिन्छु। ऊ भन्छ ‘तिमी जून छुन उडीरहेको वेला मसँगै जान नसके पनि त्यसैको कल्पनामा चङ्गा उडाएको थिएँ। तर, वायुमण्डल भित्रसम्म मात्र रैछ चङ्गाको दुरी पनि। प्रिय म हारें।’ उसको भनाईले म झन पानी पानी भएँ। र, पोखिएँ त्यसैगरी। जसरी पानी पोखिन्छ।

त्यसपछि के के भयो म शब्दमा व्यक्त गर्न सक्दिन। त्यो दिन मेरो जीवनको एउटा अविस्मरमणीय दिन बन्छ। एउटा फूल भमरासँग समर्पित भएको दिन। नदीका दुई किनारा शीतल नदीमा समाहित भएको दिन।

अर्थात् मेरो जीवनको उराठ उद्यनमा प्रेमको सुन्दर र सुवासित फूल फुलेको दिन।