Follow us: Youtube Android App
Somersby Nepal
लघुकथा : हजुरआमाको फेशबुक !
८ मंसिर २०७३


“ए बाबु ! मेरो पनि तिमीहरुको जस्तोे फेशबुक बनाईदेउन है ।” म झस्किएँ । आफ्नै शुरमा फेशबुकमा साथीहरुसँग च्याटमा मस्त भएको बेला एक्कासी मेरो नजिकै आएर हजुरआमाले यस्तो भन्नुभयो । “हाई सञ्चै हुनुहुन्छ ?” त्यत्तिकैमा उनको म्यासेज आईहाल्यो । म हजुरआमाको कुरालाई वास्तै नगरी फेशबुकबाट उनको म्यासेजको रिप्लाई गर्नतर्फ लागेँ । हजुरआमा कतिबेला जानुभयो मैले पत्तो पाईन ।

मैले जब फेशबुक चलाउन थाल्यो सधैँ हजुरआमाले यस्तै भनेर मलाई दिक्क लगाउनुहुन्थ्यो । उहाँको कुरालाई खासै महत्व दिईन । खै ! केही दिनपछि भने उहाँ मसँग आएर कराउन छाड्नुभयो । कारण रहेछ, भाईले हजुरआमाको फेशबुक बनाईदिएको रे ! बैनीले भनी । “हजुरआमाले पनि फेशबुक चलाउने ! हा… हा… हा…” मलाई हाँस उठ्यो ।

घरको कम्प्युटरमा नै इन्टरनेट जोडेको भएकाले त्यहाँ इन्टरनेट चलाउन बेलुकीपख त लाईन नै बस्नुपर्ने । भाईबैनीहरु पनि स्कूलबाट आउने बित्तिकै खाजा खान छाडेर फेशबुकमा व्यस्त भईहाल्ने । उनीहरुको पालो सकिएपछि फेरि दिदी र दाईको पालो । म भने प्रायःजसो अफिसमा नै चलाउने भएकाले कहिलेकाहीँ खाली भएको बेलामा मात्र घरको कम्प्युटरबाट फेशबुक  खोल्थेँ । दिउँसो भने घरमा हजुरआमा र आमा मात्र बस्ने भएकाले खाली नै हुन्थ्यो ।


एकदिन अफिसमा काम नभएकाले चाँडै घर आएँ । भोक लागिरहेको भएपनि खाजाको वास्तै नगरी म फेशबुक चलाउन भन्दै कम्प्युटर भएतर्फ लागेँ । कम्प्युटर खुल्लै थियो । कस्ले हो फेशबुक लगआउट गर्न पनि बिर्सिएको रहेछ । त्यो कुनै युवतीको फेशबुक थियो । किनकी त्यहाँ अपलोड भएका तस्विरबाटै थाहा हुन्थ्यो । यति राम्रा तस्विरहरु कता कता देखेको जस्तो लाग्यो । कमेन्ट र लाईक त यति थिए कि कुरै नगरौँ, कुनै मोडलको भन्दा कम थिएन । नाम पनि कता कता सुुनेझै लाग्यो । “हैन ! हाम्रो घरमा आएर फेशबुक चलाउने यति राम्री सुन्दरी को रैछिन् ?” घरमा नयाँ मान्छे कोही पनि देखिनँ । मनमनै सोचेँ -“आ… जो भएपनि उनको फेशबुकबाट मेरोमा फ्रेन्ड एड गनुपर्यो, अनि त सधैँ च्याट । बबाल हुने भो ।” फेशबुकमा च्याट अन मात्र के गरेको थिएँ, “हाई, स्वीटी !” “हेल्लो, व्युटी !” आदि इत्यादि म्यासेज धमाधम आउन थाले, त्यो पनि ठिटाहरुको ।“हैन ! त्याँ मेरो फेशबुक लगआउट नै गरेको छैन फेरि के गर्न लागेको हँ ?” म झस्किएँ । पछाडिबाट हजुरआमा कराउँदै हुनुहुन्थ्यो । “हैन के भन्नुहुन्छ ? हजुरआमाको यस्तो फेशबुक ???” म अचम्ममा परेँ । हो ! साँच्चै रहेछ । अनि तस्विरचाहीँ २५ वर्ष अगाडिको पुराना तस्विरहरु रे ! विचरा ती ठिटाहरु…
– मोहन अभिलाषी !