Follow us: Youtube Android App
सबै नदीकिनारमा करिडोर बन्दै
२८ पुष २०७३

सरकारले उपत्यकाका प्रत्येक नदीकिनारमा करिडोर विस्तार गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको बढदो बस्ती र सवारी जाम व्यवस्थित गर्न करिडोर निर्माण विस्तार अघि बढाएको हो ।  विस्तार भइरहेका र बाँकी करिडोरलाई तीव्र रूपमा अघि बढाउने लक्ष्य रहेको उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । 

उनका अनुसार सुन्दरीजल–कुपन्डोलसम्म वागमती नदीको दायाँबायाँ करिडोर निर्माणको काम भइसकेको बताए । उक्त करिडोरमा एसियाली विकास बैंकको सहयोगमा सुन्दरीजल–गोकर्ण खण्डमा हरियाली बनाउने कामसमेत अघि बढिसकेको छ । नदीको बहाव हालकै अवस्थामा कायम रहने गरी सडक विस्तार तथा हरित उद्यान निर्माण गरिने उनले बताए ।

नदीको बहाव छाडी दायाँबायाँ करिडोर विस्तारको काम भइरहेको छ । वागमती, विष्णुमति, मनोहरा, नख्खु, बल्खु, कर्मनासा, कोडकु, साङले र महादेव खोला धोबीलगायतमा करिडोर निर्माणका लागि सरकारले पहिले नै निर्धारण गरिसकेको उनले बताए ।

वागमती, विष्णुमति र मनोहराका दायाँबायाँ २०/२० मिटर कायम गरिएको छ । वागमती नदीको बहाव क्षेत्र र स्थान हेरी फरक निर्धारण गरिएको छ । सुन्दरीजलदेखि गोकर्णसम्म २० मिटर, गोकर्णदेखि जोरपाटी पुलसम्म ३५ मिटर, जोरपाटी पुलदेखि गुहयेश्वरीसम्म ४० मिटर, तिलगंगादेखि शंखमूल खण्डमा न्यूनतम ३० मिटर, शंखमूलदेखि विष्णुमति दोभानसम्म न्यनूतम ६० मिटर बहाव क्षेत्र निर्धारण गरिएको छ । 

विष्णुमति दोभान र त्यसको तल्लो तटीय क्षेत्रमा न्यूनतम ८० मिटर बहाव क्षेत्र कायम गरिएको छ । नदीको बहाव कायम गरी करिडोर विस्तार अघि बढिरहेको उनले बताए । हाल बालकुमारीदेखि साँखुसम्मको मनोहराकिनारको करिडोर विस्तार अघि बढिरहेको छ । बालकुमारी–ब्रहमखेल करिब ९ किमि करिडोर निर्माणका लागि सरकारले १८ करोड रुपैयाँ विनियोजन गरेको छ । करिडोर निर्माणमा केही ढिलाइ भएको काठमाडौं १ नम्बर सडक डिभिजनका प्रमुख धर्मेन्द्र झाले बताए । मनोहरा करिडोरमा हरियालीसहित करिब ११ मिटर चौडाइको सडक निर्माण गरिने उनले बताए ।