Follow us: Youtube Android App
Somersby Nepal
चन्द्रागिरिमा ‘ईआईए’ बेवास्ता गर्दै निर्माण
२८ पुष २०७३


चन्द्रागिरि हिल्स लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख भएका सर्तहरू बेवास्ता गर्दै भटाभट भौतिक संरचना निर्माण गरिरहेको पाइएको छ । निर्माणका क्रममा कम्पनीले वातावरणीय विनाश न्यूनीकरण गर्न अपनाउनुपर्ने विधि अवलम्बन नगरेको सम्बद्ध जानकारहरूले बताएका छन् । 

केबलकार, पाँचतारे रिसोर्ट, भ्यु टावर, मन्दिर, टप स्टेसन भवन, कन्फरेन्स हल र रेस्टुरेन्टलगायत संरचना निर्माणका लागि काठमाडौं फनपार्क परियोजनाको ‘वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय’ ले २०६९ भदौ २० मा ईआईए प्रतिवेदन स्वीकृत गरेको थियो । उसले २०७३ जेठ १५ देखि काठमाडौं फनपार्कलाई चन्द्रागिरि हिल्स लिमिटेड नाम राखेर निर्माण अघि बढाएको हो । 

भौतिक, जैविक, सामाजिक तथा सांस्कृतिक अवयवमा खलल पर्न नदिई विकास निर्माणका कार्य वातावरणमैत्री ढंगले सञ्चालन गर्नु नै ईआईए हो । विकास र वातावरणलाई एकीकृत गरी विभिन्न प्रकृतिका विकास कार्यमा वातावरणीय अवधारणालाई समावेश गर्ने र वातावरण संरक्षणमा निर्णायक भूमिका खेल्नु ईआईएको मुख्य उद्देश्य हो । 

निर्माणका क्रममा उक्त क्षेत्रमा वायु प्रदूषण, पानीको स्रोतमा अवरोध, माटोको क्षय गर्न नहुने र तल्लो तटीय क्षेत्रका बस्तीलाई जोखिम हुने कार्य गर्न नहुने भनी ईआईए प्रतिवेदनमा उल्लेख भए पनि भौतिक संरचना निर्माणका क्रममा ती मापदण्ड कार्यान्वयनप्रति कम्पनीले वास्ता नगरेको वातावरण मन्त्रालयका एक अधिकारीले बताए ।