Follow us: Youtube Android App
Somersby Nepal
जलविद्युतको सेयर किन्न बैंकऋण, गाउँ–गाउँमा सेयर बेच्न टोली खटिने
२८ पुष २०७३


पाँच वर्षअघि माओवादी नेता जनार्दन शर्माले ‘उज्यालो रुकुम’ कार्यक्रम ल्याएका थिए। जिल्लामा बग्ने सानी र ठूली भेरी नदीमा जनताको लगानीबाट बिजुली निकाल्ने उनको योजना थियो।    रुकुमका सांसदसमेत रहेका उनले जिल्ला विकास समितिको नेतृत्वमा १० मेगावाटको आयोजना बनाउन विद्युत विकास विभागमा आवेदन पनि दिए। विभागले त्यसको ‘लाइसेन्स अर्कैले लगिसकेको’ जवाफ दिएपछि उनको योजना अधुरै रह्यो।

ऊर्जा मन्त्री बनेपछि उनले त्योजस्तै अन्य जलविद्युत योजना जनताकै लगानीमा कार्यान्वयन गर्न ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम घोषणा गरेका छन्। र, ‘उज्यालो रुकुम’ लाई ‘उज्यालो नेपाल’ नाम दिएका छन्।   ‘मन्त्री भइसकेपछि मेरो मनमा उज्यालो रुकुमलाई उज्यालो नेपाल बनाउनुपर्छ भन्ने आइडिया आयो,’ ऊर्जामन्त्री शर्माले बुधबार सेतोपाटीसँग भने, ‘यो कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर विभिन्न पक्षसँग छलफल गरेँ, सबैले जलविद्युतमा जनताको लगानी सम्भव भएको बताए।’  

उनले फाइदा हुने आयोजनामा जनताको लगानी हुनुपर्छ र त्यसमा पनि विदेशमा रहेका नेपालीले कसरी लगानी गर्न सक्छन् भनेर केही आइटी विज्ञसँग सल्लाह गरे। प्राविधिकहरूले अनलाइनमार्फत् पहिला प्रतिबद्धता लिने र पछि सेयर दिन मिल्ने गरी सफ्टवेयर बनाए।    ऊर्जा मन्त्रालयले सोमबारबाट सुरु गरेको यो कार्यक्रमअन्तर्गत तीन दिनमै एक अर्ब नौ करोड रुपैयाँको प्रतिबद्धता आएको छ। देशभित्र र बाहिरका गरी १५ हजार २ सय ८३ जनाले आफू नेपालको जलविद्युतमा लगानी गर्न प्रतिबद्ध रहेको बताएका छन्। १२ वटा निजी कम्पनीले पनि प्रतिबद्धता जनाएका छन्।  

लगानीको प्रतिबद्धता जनाउन मन्त्रालयले वेबसाइट (www.moenonline.moen.gov.np) बनाएको छ। इच्छुक व्यक्तिले लगानीको प्रतिबद्धता जनाउन त्यही वेबसाइटमा गएर अनलाइन फारम भर्नुपर्छ। यसरी फराम भर्दा तीनपुस्ते व्यक्तिगत विवरण खुलाउनुपर्छ।    ‘प्रतिबद्धता पत्रमा इच्छाएको व्यक्ति, नागरिकता नम्बर, पासपोर्ट नम्बर, तीनपुस्ते र रोजगारीको अवस्था मागेका छौं,’ ऊर्जामन्त्री शर्माले भने, ‘हामी यही आधारमा इच्छुक व्यक्तिको व्यक्तिगत विवरण हेरेर सेयर हाल्न सक्छ कि सक्दैन भन्ने विश्लेषण गर्छौं।