Follow us: Youtube Android App
बिदाइका क्रममा रुँदै ओबामाले भने, ‘लोकतन्त्रले एकरूपता होइन, ऐक्यबद्धता खोज्छ’
२८ पुष २०७३

हलमा खचाखच हजारौं समर्थकको तालीका बीच जब ओबामाले पत्नी मिसेल, छोरीहरू र सिंगो अमेरिकालाई सम्झे, एकाएक भावुक बने । उनका आँखा रसाए । कोटको खल्तीबाट रुमाल झिकेर आँसु पुछे । अनि ह्वाइट हाउसमा दुई कार्यकाल बिताएर बिदाइ हुनुअघिको अन्तिम सम्बोधनलाई निरन्तरता दिए । 

राष्ट्रपतिका रूपमा ८ वर्ष बिताएर बाहिरिने क्रममा मंगलबार गृहनगर सिकागोमा ओबामाले दिएको बिदाइ सम्बोधनले धेरैलाई भावुक बनायो । सम्बोधनमा उनले अधिकांश समय अमेरिकी प्रजातन्त्रको विशेषता वर्णन गर्नमा खर्चिए । साथै प्रजातन्त्र रक्षाका लागि आम नागरिकलाई आह्वान पनि गरे ‘अबका १० दिनमा विश्वले हाम्रो प्रजातन्त्रको नमुना देख्नेछ’, ओबामाले भने, ‘डोनाल्ड ट्रम्पलाई मेरो प्रशासनले त्यसरी नै सहज रूपमा सत्ता हस्तान्तरण गर्नेछ, जसरी राष्ट्रपति बुसले मेरा लागि गर्नुभएको थियो ।’ 

ओबामाले निर्वाचन र जनसहभागितालाई प्रजातन्त्रको खास विशेषताका रूपमा उल्लेख गरे । ‘संविधान वास्तवमा आफैंमा कागजको खोस्टोबाहेक केही होइन,’ उनले भने, ‘तर जनसहभागिता र चुनावमार्फत हामीले यसलाई शक्ति प्रदान गरेका छौं । हामी स्वतन्त्रताको पक्षमा उभिन्छौं कि उभिँदैनौं, कानुनी शासनको सम्मान र पालना गर्छौं कि गर्दैनौं भन्ने कुराले नै हाम्रो प्रजातन्त्र कस्तो छ भन्ने निर्धारण गर्छ ।’

 आर्थिक प्रगति, इरानसँगको परमाणु सम्झौता, क्युबासँगको सम्बन्ध पुन:स्थापना र समलिंगी विवाहलाई कानुनी मान्यता दिने लगायतका कामलाई आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेका ओबामाको सम्बोधनका थप मुख्य आशय यस्ता थिए–‘हरेक दिन मैले तपाईंहरूबाट सिकें । तपाईंहरूले मलाई असल राष्ट्रपति बनाउनुभयो । तपाईंहरूले नै मलाई असल मान्छे पनि बनाउनुभयो ।

वास्तवमा परिवर्तन तबमात्र हुन्छ, जब जनसाधारणको सहभागितामा यसको माग हुन्छ । तपाईंहरूका राष्ट्रपतिका रूपमा ८ वर्ष बिताएपछि मेरो के धारणा छ भने हामी सबै समान छौं, हाम्रो जीवन, स्वतन्त्रता र उन्नति कसैले हनन गर्न नसक्ने अधिकारसम्पन्न  छन् । यो हामीलाई हाम्रा अग्रजहरूले दिएको महान् उपहार हो । प्रजातन्त्रका माध्यमबाटै हामी यिनलाई अझ पूर्ण बनाउन सक्छौं ।