Follow us: Youtube Android App
Somersby Nepal
ऊर्जामन्त्रीको चेतावनीपछि चिनियाँ कम्पनी थ्री गर्जेज नेपाल आयो
२८ पुष २०७३


काठमाडौं । नेपालका विकास आयोजनाहरुको ठेक्का लिएर काम अघि नबढाउनेमा भारत सबैभन्दा अगाडि छ । उसैको सिको गर्दै चिनियाँ कम्पनीहरु पनि ठेक्का लिने तर, समयमा काम नगर्ने बाटोतिर अग्रसर हुन थालेका छन् । यसैको एउटा तीतो उदाहरण बनेको छ ७५० मेघावाटको पश्चिम सेती जलविद्युत परियोजना । पश्चिम सेतीमा एमओयू अनुसार समयमै काम नथाल्ने हो भने लाइसेन्स नै खारेज गरिदिने ऊर्जामन्त्री जनार्दन शर्माको चेतावनीपछि चिनियाँ कम्पनी थ्री गर्जेजको उच्चस्तरीय टोली नेपाल आएको छ ।

कम्पनीका उपाध्यक्षसहित नेपाल आएको टोलीले बिहीबार लगानी बोर्डमा पश्चिम सेतीबारे प्रोजेक्ट पेपर प्रस्तुत गर्दैछ ।लगानी बोर्डका सहसचिव तथा प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार थ्री गर्जेजको टोलीसहित बोर्डले यस विषयमा बिहीबारदेखि बहृत छलफल गर्दैछ । चिनियाँ कम्पनीले लाइसेन्स होल्ड गरेको ५ वर्ष पुगिसकेको छ । सन् २०१२ को फेब्रअरी महिनामा थ्री गर्जेजसँग पश्चिम सेती निर्माणको सम्झौता भएको थियो । तर, विद्युत प्राधिकरणले लगानी गर्ने २५ प्रतिशत रकमको टुङ्गो नलागेसँगै यसको निर्माण कार्य लामो समयसम्म अवरुद्ध भएको हो ।

स्मेकले अल्झायो २१ वर्ष
नेपालका जलविद्युत परियोजना ठेक्का लिएर काम नगर्नेमा पश्चिमी राष्ट्रका कम्पनीहरु पनि बदनाम छन् । तामाकोशीबाट नर्बेजिनयन कम्पनी भागेजस्तै २१ वर्षअघि नै अष्ट्रेलियाको स्मेक कम्पनीले पश्चिम सेती आयोजना निर्माणको जिम्मा लिएको थियो । तर, १० पटकसम्म इजाजतपत्र नवीकरण गरेपछि सरकारले उसको इजाजत नै रद्द गरेको थियो ।

स्मेकको इजाजत रद्द भएसँगै पश्चिम सेती आयोजनाको जिम्मा चिनियाँ कम्पनी थ्री गर्जेजले लिएको हो । २१ वर्षदेखि बनाउन चाहेर पनि नेपाल सरकारले यो जलविद्युत परियोजना अघि बढाउन सकेको छैन । नेपाल सरकारले आफैं काम गर्दा अपर तामाकोशीमा बिजुली बल्ने बेला हुन लागिसक्यो ।

बल्ल स्थलगत भौगर्भिक अध्ययन सकियो
थ्री गर्जेजको प्राविधिक टोलीले आयोजना स्थलको भौगर्भिक अध्ययन गरिसकेको छ । यसलाई थ्री गर्जेजको टोलीले बिहीबार लगानी बोर्डमा पेश गर्न लागेको छ । टोलीले आयोजनाले प्रभावित गर्ने सुदूरपश्चिमका डोटी, बैतडी, बझाङ, र डडेलधुराको भूभागमा रहेर प्राविधिक तथा भौगर्भिक लगायतका विषयमा अध्ययन गरेको हो । भूकम्पपछि नै नेपाल आएर थ्री गर्जेजको टोलीले यसको भौगर्भिक अध्ययन सुरु गरेको थियो ।

सन् १९९३ मा स्थापना भएको थ्री गर्जेज पूर्ण सरकारी स्वामित्वको चिनियाँ कम्पनी हो । यसले सन् २०२० सम्मका विश्वभरि ७० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । यसले चीनमा विश्वकै ठूलो २२ हजार मेगावाटको आयोजना निर्माण गरिसकेको छ ।