Follow us: Youtube Android App
स्थान अभावले भैरहवा महोत्सव अनिश्चित, यी हुन सक्छन् वैकल्पिक स्थान
२६ पुष २०७३


भैरहवा । भैरहवामा प्रत्येक वर्ष हुने राष्ट्रिय औद्योगिक व्यापार महोत्सव स्थान अभावले लगभग स्थगित हुने अवस्थामा पुगेको छ । आगामी माघ १३ गतेदेखि सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा गर्ने भनिएको व्यापार महोत्सव आयोजना स्थलको अभावमा लगभग स्थगित हुने भएको हो । भैरहवामा रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ र उद्योग व्यापार संगठनले पालैपालो प्रत्येक वर्ष भैरहवाको सिद्धार्थ रंगशालाको मैदानमा व्यापारिक मेला आयोजना गर्दै आएका थिए । तर यस वर्ष भने स्तरोन्नती भइरहेकाले ठाउँ नपाएर मेला नहुने लगभग निश्चित भएको छ ।

यस वर्षको महोत्सव स्थगित नभएको भन्दै केही समयको लागि मात्र महोत्सवको समय सारिएको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष कुल प्रसाद न्यौपाने बताउँछन् ।

‘हामीले महोत्सव स्थगित नै गरेको निर्णय गरेका छैनौं । केही ढिला हुने भएको छ’, न्यौपानेले अनलाइनखबरसँग भने, ‘ठाउँ अभावका कारण महोत्सव गर्न ढिलाई भएको हो, स्थलको खोजी भइरहेको छ । एक-दुई महिना भित्र महोत्सव आयोजना गर्न सक्छौँ ।’

सिद्धार्थ रंगशाला
सिद्धार्थ रंगशाला अन्तर्राष्ट्रिय रंगशालाको रुपमा स्तरोन्नती भइरहेका कारण महोत्वस आयोजकलाई भैरहवामा महोत्सव स्थलको अभाव भएको कारण यस वर्ष महोत्सवको नहुने देखिएको छ ।

हुन त भैरहवाको बसपार्क पछाडि ५ विघा १३ कठ्ठा विघा सार्वजनिक जग्गा छ । तर जग्गा समथर नरहेको कारण महोत्सव गर्ने अवस्था छैन । यो वर्ष महोत्सव आयोजना गर्ने आयोजकले उक्त जग्गामा महोत्सव आयोजना गर्नका लागि जग्गामा मात्र करिब ३७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने दावी गरेको छ । सो जग्गामा लाखौँ रुपैयाँ बराबरको माटो पुरेर समथर बनाउनु परेको कारण लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ ।

लाखौँ रुपैयाँ खर्चेर आयोजकले महोत्सव आयोजना गरेपनि दीर्घकालीन रुपमा उक्त जग्गामा महोत्सव आयोजना गर्न पाउँदैन । केपी ओली सरकारको पालामा सरकारले नगरपालिकाका विकासको लागि छुट्टाएको ५० करोड रुपैयाँको बजेटअन्तर्गत उक्त बसपार्कलाई स्तरोन्नती गर्नका लागि सिद्धार्थ नगरपालिकाले शहरी विकास मन्त्रालयमा पत्राचार गरेर स्तरोन्नती गर्ने प्रक्रियासमेत अगाडि बढाएको कारण दीर्घकालीन रुपमा उक्त जग्गा प्रयोग गर्न मिल्दैन ।