Follow us: Youtube Android App
Somersby Nepal
व्यावसायिक मौरीपालनबाट प्रशस्त आम्दानी
२८ पुष २०७३


पर्वत  यहाँको एक विकट गाउँका कृषकले मौरीपालन ववसायबाट वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।  पर्वत सदरमुकाम कुश्मासँगै जोडिएको बलेवास्थित अमलाचौर–३ का डिलबहादुर खत्रीले व्यावसायिक मौरीपालनबाट वार्षिक २५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका हुन् । विगत डेढ दशकदेखि मौरीपालन व्यवसायमा हात हालेका खत्रीको परिवारमा अहिले झण्डै एक सय घार मौरी छन् । 

अमलाचौरमै बलेवा मौरीपालन उद्योग खोलेर व्यवसाय सुरु गरेको खत्री परिवारले मौरीका घार, खाली घार र मह बिक्री गरेर यतिका धेरै आम्दानी गर्न सफल भएको हो । आफ्नै घर वरिपरिको पाँच रोपनी क्षेत्रफलमा व्यवसाय गरेका खत्रीले यसलाई अझै बढाउने योजना बनाएका छन् । उनी धौलागिरि अञ्चलकै नमुना मौरीपालक कृषकको रूपमा चिनिएका छन् । 

उनले उक्त उद्योगबाट वार्षिक रूपमा झण्डै ६ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्ने गर्दछन् । अहिले प्रतिकिलोग्राम महको मूल्य ७ सय ५० रुपैयाँ छ । त्यस्तै मौरीसहितको घारलाई ७ हजार रुपैयाँ र खाली घार बिक्री गरेका प्रतिघार तीन हजारका दरले बिक्री गर्ने गरेका छन् ।  

वार्षिक रूपमा १ सयदेखि २ सयसम्म बिक्री गर्ने गरेको खत्रीका छोरा जीवनबाबु खत्रीले जानकारी दिए । वैदेशिक रोजगारीका लागि कतार पुगेका खत्री पनि गाउँमा जति कमाइ गर्न नसकेपछि पुनः घरमै फर्केर बाबुकै पेशा अँगालेर बसेका छन् । 

दश जनाको संख्यामा रहेको खत्रीको परिवार अहिले पुरै मौरीपालन व्यवसायमा सक्रिय छन् । मौरीको हेरचाह, घार निर्माण गर्ने, दाना खुवाउने र मह काढ्ने कामले उनीहरूलाई भ्याइनभ्याई हुने गरेको छ । घरमै बसेर वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी हुन्छ किन विदेश जानुप¥यो जीनबाबु भन्छन्, अब यही व्यवसायलाई आधुनिकीरण गरेर अझै विस्तार गर्ने योजना छ ।