Follow us: Youtube Android App
Somersby Nepal
वायु सेवा निगमले नयाँ जहाज खरिदका लागि पहिलो किस्ता बुझायो
२ असार २०७४


नेपाल वायु सेवा निगमले नयाँ जहाज खरिद गर्नका लागि पहिलो किस्ता वापत आठ अर्ब रुपैंया भुक्तान गरेको छ । निगमले वाइड बडी ए ३३० जहाज खरिद गर्नका लागि अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेशनलाई पहिलो किस्ताको रकम शुक्रबार बुझाएको हो ।

कर्मचारी सञ्चय कोष र नागरिक लागनी कोषले दुईवटा वाइडबडी जहाज खरिदका लागि निगमलाई नेपाल सरकारको जमानतमा १२ अर्ब रुपैंयाका दरले ऋण दिने सम्झौता गरेका थिए । सोही सम्झौता अनुसार कोषले उपलब्ध गराएको रकम निगमले जहाज निर्माता कम्पनीलाई बुझाएको हो ।

निगमले २०७५ जेठभित्र दुईवटा वाइडबडी जहाज खरिदका लागि अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनसँग खरिद सम्झौता गरिसकेको छ । निगमले खरिद सम्झौता सँगसँगै पहिलो किस्ताबापतको करिब ३५ प्रतिशत केही समयमा भुक्तान गर्ने जनाएको थियो ।

निगमले ल्याउने जहाज २८० सिट क्षमताको हुनेछ । वाइडबडी जहाज आएसँगै युरोप र अमेरिकामा पनि सिधै उडान गर्ने योजना रहेको निगमले बताएको छ । निगमसँग अहिले अन्तर्रा्ष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी जहाज र एउटा बोइङ मात्र छ ।


स्रोत  : मेरो लगानी