Follow us: Youtube Android App
Somersby Nepal
सरकारले रोक्यो ‘क्लीन फीड’, विदेशी च्यानल विज्ञापनरहित नहुने
३१ असार २०७४


काठमाडौं । सरकारले नेपाली टेलिभिजन वितरक र भारतीय टेलिभजिन प्रशारकको दबावमा भोेलि अाइतबारदेखि लागू हुने भनिएको ‘क्लीन फीड नीति’ स्थगित गरेको छ । सरकारको यो निर्णयपछि भोलिदेखि टेलिभिजन सेवा बन्द गर्ने घोषणा गरेका नेपाली टेलिभिजन वितरकहरुले पनि आन्दोलन फिर्ता गरेका छन् ।

डिस होमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले अब क्लीन फीड नीति भन्दा पनि नेपालको ब्यवहारिकता हेरेर सबैलाई लाभ हुने गरी नयाँ नीति लिनुपर्ने बताए ।

सूचना तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै साउन १ गते अर्थात आइतबारदेखि लागू गर्ने भनिएको विज्ञापनरहित नीति-२०७३ तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

मन्त्रालयले नीतिका सम्बन्धमा केही कार्यहरुको सम्पादन हुन बाँकी रहेकाले तत्कालका लागि स्थगित गरिएको सूचनामा उल्लेख गरेको छ । नेपालले क्लीन फीड लगाउने तयारी गरेपछि भारतीय टेलिभिजन वितरकहरुले नेपालका लागि छुट्ट्ै फीड सामग्री उत्पादन गर्न नसकिने बताएका थिए ।

त्यस्ता कन्टेन्ट उत्पादन गरिएपनि त्यो नेपालका लागि आर्थिक रुपमा सम्भाब्य नहुने भन्दै ईण्डियन ब्रोडकाष्टिङ फेडेरेशनले फिर्ता लिन पटक-पटक अपील गरेको थियो ।

भारतीय टेलिभिजनले नेपालका लागि छुट्टै फीड नदिने बताएको भन्दै नेपाली केबल ब्यवसायी र डिस होमले आइतबारदेखि सबै टेलिभिजन सेवा बन्द गर्ने चेतावनी दिएको थियो ।

उनीहरुले नीति फिर्ता नभए आफूहरुले प्रशारण गर्ने ९५ प्रतिशत टेलिभिजन सामग्री गैह्रकानुनी हुने भएकाले रोक्ने घोषणा गरेका थिए । तर, सरकारले आफ्नो अडान छोड्दै क्लीन फीड नीति तत्काल लागू नगर्ने संकेत देखाएको छ ।

यसबाट विज्ञापन ब्यवसायी भने असन्तुष्ट बनेका छन् । नेपालमा प्रशारण हुने विदेशी च्यानलमा विदेशी विज्ञापन रोक्ने नीति फिर्ता लिएपछि सर्वसाधारणले पनि सामाजिक सञ्जालमा तीव्र असन्तुष्टी पोखेका छन् ।

Source