Follow us: Youtube Android App
Somersby Nepal
मलेसियामा गैरकानुनी आप्रवासीविरुद्ध देशव्यापी धरपकड सुरु, ५१ जना कामदार समातिए
१७ असार २०७४


मलेसियाले गैरकानुनी आप्रवासी कामदारको खोजी गर्न धरपकड अभियान थालिएको जनाएको छ । गैरकानुनी कामदारलाई दर्ता हुन यसअघि दिइएको म्याद शुक्रबार (जुन ३०) सकिएलगत्तै मुलुकभर उक्त अभियान थालिएको अध्यागमन विभागका अधिकारीलाई उल्लेख गर्दै मलेसियाली सञ्चारमाध्यमहरुले खबर प्रकाशन गरेका छन् ।
 
मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई दर्ता भई ई–कार्ड (ईन्फोर्समेन्ट कार्ड) लिनका लागि गत फेब्रुअरी १५ देखि गत जुन ३० सम्मको समयावधि तोकेको थियो । उक्त अवधिमा २८ हजार ३७५ रोजगारदाताहरुबाट १ लाख ६१ हजार ०५६ कामदारका आवेदन प्राप्त भएको र १ लाख ४५ हजार ५ सय ७१ कामदारले त्यस्ता कार्डहरु लिएको समाचारहरुमा जनाइएको छ । तर, तीमध्ये हजारौं नेपालीसमेत रहेको अनुमान गरिए पनि तथ्यांकको विस्तृत विवरण सार्वजनिक भएको छैन । ‘जो गैरकानुनी छन् उनीहरु समातिन्छन्, उनीहरुलाई कालो सूचीमा सूचीकृत गरिनेछ र डिपोर्ट गरिनेछ’अध्यागमन विभागका महानिर्देशकको भनाइ उद्धृत गर्दै मलेसियाली अंग्रेजी दैनिकले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।
 
पटक–पटक दर्ता हुने समयावधि र अवसरहरु दिए पनि लक्षित अपेक्षा (कम्तीमा ४ लाख कामदार) अनुसार कामदार दर्ता नभएपछि मलेसिया उनीहरुविरुद्ध कडा रुपमा प्रस्तुत भएको हो । उसले उक्त समय सकिएलगत्तै शुक्रबार मध्यरातदेखि नै मलेसियाका विभिन्न स्थानमा गैरकानुनी कामदारको खोजी गर्ने अभियान थालेको जनाइएको छ । गएराति गरिएको खोजी अभियानमा ५१ जना गैरकानुनी कामदार समातिएको समाचारहरुमा उल्लेख छ । तीमध्ये नेपाली परे/नपरेकोबारे केही खुलाइएको छैन...

Source